पौष १५, काठमाण्डौँ । दैनिक दुई हजार १३ जना नेपाली युवा रोजगारीको खोजीमा विदेश गइरहेका बेलामा नेपालमा भने विदेशी दक्ष जनशक्ति आएर काम गरिरहेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो पाँच महिनामा ९६६ विदेशी नागरिकलाई काम गर्ने अनुमति श्रम स्वीकृति दिएको छ । नेपालमा दक्ष जनशक्ति नपाएको अवस्थामा विदेशी राख्न पाउने कानुनी व्यवस्था छ ।
विदेशी लगानीमा निर्माण भइरहेका परियोजनामा काम गर्न विदेशी आउने गरेका छन् । विभागका निर्देशक मणिनाथ गोपले चालु आवको पाँच महिनामा श्रम स्वीकृति लिने विदेशी श्रमिक गत आवको सो अवधिमा भन्दा केही बढेको जानकारी दिए । गत आव २०८०र८१ को मङ्सिरसम्म नवीकरण र नयाँ गरी ९५९ विदेशी श्रमिकले श्रम स्वीकृति लिएका थिए । चालु आवमा नयाँ श्रम स्वीकृति र नवीकरण गर्नेको सङ्ख्या ९६६ रहेको छ । यो हेर्दा अघिल्लो वर्षको तुलनामा यस वर्ष सात जनाले बढी छ ।