अकोराब बागमती प्रदेशले बुझायो मुख्यमन्त्री लामालाई ध्यानाकर्षणपत्र

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ १, बिहिबार (९ घण्टा अघि)
  • ८३ पटक पढिएको
अकोराब बागमती प्रदेशले बुझायो मुख्यमन्त्री लामालाई ध्यानाकर्षणपत्र

जेठ १,काठमाडौँ । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) बागमती प्रदेश समितिले बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई ध्यानाकर्षणपत्र बुझाएको छ । बिहीबार अकोराब बागमती प्रदेश समितिका अध्यक्ष दीपक लामाको टिमले मुख्यमन्त्री लामालाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । अकोराब बागमती प्रदेशले प्रदेशमा रहेका सबै एफएम रेडियोलाई लोक कल्याणकारी सूचना उपलब्ध गराउन माग गरेको छ । बागमती प्रदेश सरकारले सञ्चालन अनुमति दिन मिल्ने २५० वाट र ५०० वाटका एफएम रेडियोलाई मात्रै लोक कल्याणकारी सूचना उपलब्ध गराउँदै आएको छ ।

सामुदायिक रेडियोको हकमा छुट्टै नीति निर्माण गर्न तथा नीति निर्माणमा सामुदायिक रेडियोको प्रदेश समितिसँग आवश्यक छलफल गर्न माग गरिएको छ । १० बुँदे ध्यानाकर्षणपत्रमा अकोराबले समानुपातिक विज्ञापन नीति निर्माण गरी लागू गर्न, नीति निर्माण गर्दा महिला, दलित, आदिवासी, जनजाति, मुस्लिम, अल्पसङ्यक समुदायको समेत सहभागितामा सञ्चालित सामुदायिक रेडियोको हकमा विशेष सहुलियत उपलब्ध गराउन माग गरिएको छ ।

विपद्बाट आइपर्ने समस्यासँग जुध्न सामुदायिक रेडियोको लागि छुट्टै विपद् व्यवस्थापन कोषको स्थापना गर्न, सामुदायिक रेडियोको पूर्वाधार विकास, अप्ठ्यारोमा परेका रेडियोका लागि उपकरण खरिदमा अनुदान, स्वयंसेवी पत्रकारिता सम्बन्धी तालिम तथा जागरण कार्यक्रम र दक्ष जनशक्ति उत्पादनका लागि तालिम र कार्यशालाका कार्यक्रम सञ्चालन गर्न विशेष सहयोग उपलब्ध गराउन माग गरिएको छ । आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्दा सामुदायिक रेडियो प्रसारक संघ प्रदेश समितिको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्न पनि अकोराबले ध्यानाकर्षण गराएको छ ।

प्रदेशको पर्यटन प्रवद्र्धन, सामाजिक सौहाद्र्धता अभिवृद्धि तथा सचेतना अभिवृद्धिका लागि अकोराबले प्रदेश सरकारसँग ५ बुँदे सहकार्यको प्रस्ताव पनि गरेको छ । अकोराब बागमती प्रदेश समितिले रेडियो मार्पmत प्रदेशका पर्यटकीय तथा अ‍ैद्योगिक विकासमा सहयोग पुर्‍याउनका लागि सार्वजनिक सूचना तथा कार्यक्रम प्रसारण गर्न विशेष बजेटको व्यवस्था गर्न आग्रह गरिएको छ । प्रदेशमा विद्यमान सामाजिक विभेद तथा कुरीतिको अन्त्यका लागि सामुदायिक रेडियोहरू निरन्तर रूपमा क्रियाशील रहने प्रतिबद्धता जनाउँदै अकोराबले यस्ता कुरीति अन्त्यका लागि सामुदायिक रेडियोलाई साथमा लिएर अभियान सञ्चालन गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ ।

‘मुख्यमन्त्रीसँग जनता कार्यक्रम’लाई प्रदेशका रेडियोमा एउटै समयमा प्रसारण गर्ने गरी सहकार्यको प्रस्ताव पनि अकोराबले गरेको छ । विभिन्न विषयमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न र त्यस्ता कार्यक्रमहरू सामुदायिक रेडियोमार्फत प्रदेशभर प्रसारण गर्नका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

अकोराब बागमती प्रदेश समितिको ध्यानाकर्षणपछि मुख्यमन्त्री बहादुर सिंह लामाले व्यवस्थित र दीर्घकालिन योजना बनाएर अकोराबसँग मिलेर काम गर्न सकिने बताए । प्रभावकारी योजना बनाएर काम गर्नुपर्ने उल्लेख गर्दै प्रदेश सरकारको प्राथमिकताअनुसार साझेदारी गरेर अगाडि बढ्ने बताए । मुख्यमन्त्रीलाई ध्यानाकर्षण बुझाउन अकोराब केन्द्रीय समिति सदस्य ध्रुबराज ढकाल, प्रदेश समितिका सचिव आशिष ठकुरी, सदस्य रामचन्द्र पौडेल, नेपाल पत्रकार महासंघ मकवानपुरका सदस्य गणेश दूलाल, रेडियो निकासका स्टेशन म्यानेजर सुरेश श्रेष्ठ सहभागी थिए । यस्तै अकोराब बागमती प्रदेश समितिले प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सामाजिक विकास मन्त्रालयमा पनि सहकार्यको प्रस्ताव पेश गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस