बैशाख ५,काठमाडौँ । लगातार ६ कारोबार दिन घटेको शेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ३० अङ्कले बढेर २ हजार ६ सय २८ दशमलव ३६ विन्दुमा पुगेको छ ।
आज होटल बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक समूहको शेयर झन्डै २ प्रतिशतले उकालो लागेको छ । यस्तै बैंक, निर्जीवन बीमा समूहको शेयर १ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज सप्तकोशी विकास बैंक, सिन्धु विकास बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स, तेह्रथुम पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन विन नेपाल लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
शेयरबजार दोहोरो अंकले वृद्धि भएपनि लगानीकर्ताले कारोबार उत्साह ढंगले गरेका छैनन् । खासगरी यतिबेला गभर्नरको पर्खाईमा लगानीकर्ता रहेको देखिन्छ । उनिहरुको मनस्थिती पर्ख र हेरको रहेको छ । आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो साढे ८ अर्बको कारोबार भएकोमा आज ३ सय २४ वटा कम्पनीका १ करोड ६२ लाख कित्ता शेयर ७ अर्ब ३५ करोड रुपैयाँमा किनबेच भएको छ ।