असार १३, काठमाडौं । नेपालमा एचआइभी एड्स संक्रमितको अनुमानित संख्या ३० हजार भन्दा बढी रहेको सरकारी तथ्यांकले देखाएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा यसबारे जानकारी गराइएको हो ।
नेपालमा मुख्य जोखिम समूहमा मात्र एचआइभीको संक्रमण अवस्था रहेको छ । मुख्य जोखिम समूह पुरुषसँग यौन सम्पर्क गर्ने पुरुषहरु, लैङ्गिक अल्पसंख्यक व्यक्तिहरु, महिला यौनकर्मीहरु, लागुऔषध सुई प्रयोग गर्ने व्यक्तिहरु, आप्रवासी व्यक्तिहरु रहेका छन् ।
एचआइभी संक्रमितहरु महिला भन्दा पुरुष बढी रहेका छन् । नयाँ संक्रमणको वार्षिक दर पनि ६ सय १४ छ भने एड्ससँग मृत्युको संख्या ५६९ रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी जनस्वास्थ्य प्रशासक अस्मिता ओझाले बताइन् । उनका अनुसार नेपालमा एचआइभी संक्रमित गर्भवती महिलाको संख्या २ सय २७ रहेको छ ।
यौन व्यवसायमा संलग्न व्यक्तिहरु १ लाख १५ हजार ९ सय १९ जनामा, पुरुषसँग यौन सम्पर्क गर्ने पुरुष ७७ हजार ३ सय ४० जना र लैङ्गिक अल्पसंख्यक व्यक्तिहरु ३२ हजार ८ सय ९५ जना, जेलमा भएको व्यक्तिहरु २७ हजार ८ सय ३९ र लागुऔषध सुई प्रयोग गर्ने व्यक्तिहरु ४४ हजार ३ सय ५० जनामा यो अध्यन गरिएको हो ।