असार १८, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा बाँकी भूभागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
राति पनि देशभर साधरणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी,गण्डकी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।