स्पेन भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्कने

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ २०, शुक्रबार (१२ घण्टा अघि)
  • ३५ पटक पढिएको
स्पेन भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्कने

असार २०, काठमाडौं । स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तरर्राष्ट्रिय सम्मेलन’ मा सहभागि भएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् ।

सूचना तथा प्रसारण विभागले आज अपराह्न ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्ने जनाएको छ । मेड्रिडस्थित अडोल्फो सौरेज बराजाज विमानस्थलबाट कतारको दोहा प्रस्थान गरेका उनी त्यहाँबाट नेपाल फर्कने छन् ।

स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको थियो । यस्तै, स्पेन सरकारका अध्यक्ष प्रधानमन्त्री पेड्रो साञ्चेजबीच पनि दुईपक्षीय भेटवार्ता भएको थियो ।

यस्तै, स्टोनियाका राष्ट्रपति अलार कारिस इजिप्टका प्रधानमन्त्री डा मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँगको पनि भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गरेका थिए । अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गरे । यस्तै, विभिन्न छलफल सत्रमा प्रधानमन्त्री ओलीको सक्रिय सहभागिता रहेको थियो ।

विकास सहायतामा नयाँ सोचसम्बधी उच्चस्तरीय छलफलका अवाला अन्य साइड इभेन्टहरूमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो ।

बिहीबार मात्र उनले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशाला भ्रमण गरेका थिए । स्पेनमा रहेको नेपाली दूतावासको निरीक्षणका अलावा नेपाली समुदायसँग छलफल गरे ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही असार १४ गते शनिबार स्पेन प्रस्थान गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस