कोरोनाविरुद्ध सेनाको एकद्वार रणनीति

Post Thumbnail

चैत्र ४, काठमाण्डौ । नेपाली सेनाले कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि भद्रकालीस्थित सैनिक मुख्यालय प्रवेशमा ‘एकद्वार’ रणनीति अपनाएको छ । सैनिक मुख्यालयमा कार्यरत उच्च सैनिक अधिकृतदेखि जवानसम्मले कार्यालय प्रवेश गर्नुअघि र बाहिर निस्कँदा ‘थर्मप्लान्ट’बाट स्वास्थ्य परीक्षण गर्नुपर्नेछ ।

उच्च ज्वरो आएमा वा शङ्का लागेका सैनिक कर्मचारीलाई तत्काल ‘आइसोलेसन’का लागि सैनिक मुख्यालयको दक्षिणतर्फको गेटमा निर्माण गरिएका अस्थायी टेन्टमा राख्ने व्यवस्था गरिएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले कार्यालय प्रवेश गर्नुअघि स्वास्थ्य परीक्षण र हातमा सेनिटाइजर लगाएर प्रवेश गर्नुपर्ने व्यवस्था अनिवार्य गरिएको जानकारी दिए । विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओको मापदण्ड अनुरूप तीन मिटरको दूरीमा अस्थायी टेन्ट निर्माण गरिनुका साथै स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा राखिएको जनाइएको छ । त्यस्तै सैनिक कर्मचारीको स्वास्थ्य सुरक्षा, सतर्कता र सचेतनाका लागि वीरेन्द्र सैनिक अस्पताल छाउनीका प्रमुख चिकित्सकको नेतृत्वमा ‘कोर ग्रुप’ गठन गरिएको प्रवक्ता पाण्डेले बताए । प्रत्येक सैनिक ब्यारेकमा स्वास्थ्यकर्मी सहितको दुई–दुई बेड ‘आइसोलेसन’ सेवा विस्तार गरिएको छ । सार्वजनिक स्थान तथा बाटोमा गरिने सैनिक दौड, पिटी र परेड स्थगित गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस