मंसिर १३, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको युग डिजिटल अर्थतन्त्रको भएको बताएका छन् । शनिबार भइरहेको ‘फोनपे डिजिटल इकोनोमी कन्क्लेभ’ मा प्रधानमन्त्रीले यस्तो बताएका हुन् । अहिले विश्वको ध्यान डिजिटल अर्थतन्त्रको खोज र विकास मा लागेको समेत ओलीले बताए । ‘यस क्षेत्रमा लगानी बढिरहेको छ नयाँ आविष्कार र नवप्रवर्तन भइरहेका छन्’ उनले भने । ‘कोरोनाले हरेक मानिसबीच दूरी बढाइदिएको समयमा डिजिटल कमर्श, डिजिटल पेमेन्टलगायतका पक्षहरु हामीलाई जोड्ने माध्यम बनिरहेका छन्’ उनले भने ।
उनले बताए ‘कोरोना महामारी नियन्त्रण गर्न बाध्यात्मकरुपमा लगाइएको बन्दाबन्दीले भौतिक सम्पर्कलाई निषेध गर्दा ई–कमर्श, अनलाइन सपिङ, डिजटिल बैंकिग र ई–लर्निंग लगायत डिजिटल उपचार, व्यवसाय र क्रियाकलापहरु नेपालका शहरी क्षेत्रहरूमा मात्र होइन, धेरै स्थानमा आम जीवनको अंग बनेका छन् ।’ ब्रोडब्याण्डमात्र होइन, मोबाइलमार्फत समेत इन्टरनेट प्रयोगकर्ता बढिरहेका कारण डिजिटल प्रणालीमैत्री वातावरणलाई सहज भइरहेको समेत प्रधानमन्त्रीले बताए ।