फागुण १५, काठमाडौं । नेकपा प्रचण्ड माधव समूहले निर्वाचन आयोगको भूमिकाप्रति असन्तुष्टि जनाएको छ । संगठनात्मक निर्णय अध्यावधिक गर्न अनुरोध गर्दा विवाद निरुपणको प्रक्रियामा आउन बाध्य बनाएको र त्यसअनुसार आधिकारिता विवाद निरुपण गर्न आग्रह गर्दा निर्णय नदिएको समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
सर्वोच्च अदालतले दबाब, धम्की र प्रतिगामी षड्यन्त्रलाई चिर्दै संविधान र लोकतन्त्रको पक्षमा ऐतिहासिक फैसला गरेको भन्दै उनले फेसबुकमा लेखेका छन्, ‘निर्वाचन आयोग के गर्दैछ ? सर्वोच्च अदालतमार्फत पूरा हुन नसकेको प्रतिगामी योजनाको सेवामा के निर्वाचन आयोग प्रयोग होला त ?’ ‘अदालतले दिएको सकारात्मक निकासलाई कार्यान्वयन हुनबाट रोक्ने हतियार निर्वाचन आयोग बन्ला त ? संविधानलाई बचाउने अदालतको फैसलालाई निष्प्राण बनाउँदै संविधान र कानूनलाई नाङ्गै लत्याउने काम निर्वाचन आयोगबाट होला त ? अहिलेको सर्वाधिक सार्वजनिक सरोकारका प्रश्न हुन् ।’