फागुण १८, काठमाण्डौ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक व्यवस्थित ढंगले सञ्चालन गर्नेबारे राजनीतिक दलका नेताहरूसँग परामर्श गर्ने बताएका छन् ।
मंगलबार संघीय संसद भवन नयाँबानेश्वरस्थित संसद बैठक कक्षको अवलोकनपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भोलि बुधबारदेखि नै दलका नेताहरूसँग छलफल सुरू गर्ने बताएका हुन् ।
संसद बैठकका एजेण्डाहरूको सम्बन्धमा सम्बद्ध सबै पक्षसँग तालिकाबद्ध रूपमा विचार, विमर्श र परामर्श गर्ने स्पष्ट पारे । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि आगामी २३ गते बस्ने प्रतिनिधिसभाको बैठकलाई चासोका साथ हेरिएको छ ।