भाद्र २०, काठमाण्डौ । सेयर कारोबार रकम उच्च बन्दै जाँदा ठूला लगानीकर्ता पनि बजार प्रवेश गरेको अनुमान लगाउन थालिएको छ । साताभरको कारोबार रकमले पनि यसलाई पुष्टि गर्छ । मूलतः लकडाउन र निशेषाज्ञाका कारण व्यवसायका सबै अवसर अवरुद्ध भएका बेला व्यवसायी लगानीकर्ता ट्रेडिङका लागि सेयर बजारमा प्रवेश गरेको कतिपयको विश्लेषण छ ।
यसलाई स्पष्ट पार्ने केही आधार पनि छन् । अहिले कर्जा प्रवाह हुन नसकेका कारण बैंकहरूमा अधिक तरलताको स्थिति छ । फलतः कर्जामा ब्याजदर निकै तल झरेको छ । निक्षेप संकलन भइरहने तर कर्जा प्रवाह नहुने अवस्था आएसँगै बैंकहरूले सेयर कारोबारी व्यवसायीलाई बोलाएरै मार्जिन लोन दिने गरेका छन् । व्यवसायीहरु सस्तो ब्याजको अवसर उपयोग गर्दै सेयर किन्न थालेपछि ठूलो कारोबार रकमसँगै परिसूचक उकालो लाग्न थालेको हो ।
डा। युवराज खतिवडा अर्थमन्त्री भएसँगै त्यसैलाई बहाना बनाउँदै बजारमा चलखेल भइरहेको थियो । अहिले उनको बहिर्गमन सेयर बजारमा हल्ला फैलाउनेहरूका लागि अनुकूल समय भइदिनसक्छ । नेपालमा गैरबैंकिङ क्षेत्र या अनौपचारिक क्षेत्रमा ठूलो पैसा रहेको अनुमान गरिन्छ । सेयर बजारमा अनुकूल मौसम पर्खिएर यस्ता पैसा निस्किने गर्छन् । समय सन्दर्भ मिलाउँदै अहिले पलङ र ट्यांकीबाट पैसा निकालिएको पनि कतिपयको अनुमान छ ।
कतिपयले अहिलेको अवस्थालाई ‘सेयर साइकल’को रुपमा पनि हेरेका छन् । लामो समयदेखि घटिरहेको बजार ४० प्रतिशतले घटेपछि स्थिर बन्यो । सेयर मूल्य र चार गुणाभन्दा धेरैले बढेको सेयर संख्या समायोजन भइसकेकाले अब बजार बढ्छ भन्ने बुझाइमा पनि कतिपय लगानीकर्ता छन् । सेयर बजारमा सक्रिय लगानीकर्ताको संख्या बढ्दै गएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले अघिल्लो शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार दुई सातामै साढे ७ हजार अनलाइन लगानीकर्ता बढेका छन् । तथ्यांकअनुसार दुई सातामै अनलाइन कारोबारका लागि युजर नेम र पासवर्ड लिनेको संख्या ७ हजार ४६० जनाले बढेको हो ।
हाल भदौ ११ गते अनलाइन लगानीकर्ताको संख्या ६४ हजार ६१६ पुगेको छ । युजर नेम र पासवर्ड लिने लगानीकर्ताको संख्या बढ्दै जानुले पनि बजारमा लगानीकर्ताले उपयुक्त समय कुरिरहेको स्पष्ट हुन्छ ।