बैशाख २३,काठमाडौँ । ग्लोबल आईएमई बैंकले नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे शुरू गरेको छ । गेटवे शुरू भएपछि बैंकका मर्चेन्टहरूले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरूबाट जारी भएको भिसा तथा मास्टर कार्डहरूमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
नेपालमा ई–कमर्स कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको ग्लोबल आईएमईले जनाएको छ । ग्लोबल पेमेन्ट गेटवेमार्फत बैंकका मर्चेन्टहरूले आफ्नो व्यवसायको दायरा विस्तार गरी देश विदेशबाट सहज रूपमा भुक्तानी लिन सक्नेछन् । यो गेटवेको शुरुआतपछि ई–कमर्स कारोबार गर्ने जस्तै– ट्राभल तथा टुर एजेन्सी, होटल, एअरलाइन्स, अस्पतालगायतका व्यवसायहरू लाभान्वित हुनेछन् ।
ग्लोबल पेमेन्ट गेटवेले राष्ट्रिय र अन्तर्राष्ट्रिय भुक्तानीहरू प्राप्तिका लागि सहज बनाउने भएकोले बैंकका मर्चेन्टहरूको व्यवसाय वृद्धिमा सहयोग पुग्नेछ । साथै यस पेमेन्ट गेटवेमा थ्रीडी सेक्योर्ड प्रविधिको प्रयोग हुने भएकाले कारोबारहरू थप सुरक्षित हुनेछ ।
ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । साथै ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आईएमई बैंक देशको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्शन तथा राजस्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्र छन् ।
बैंकले विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।