वैशाख २८, लमजुङ । जलविद्युत् ‘हब’ बन्दै गएको लमजुङमा १७ आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् । जिल्लास्थित मस्र्याङ्दी नदी, दोर्दी, मिदिम, ङादी, स्याँगे, खुदीलगायत खोलाबाट बिद्युत् उत्पादन भइरहेको छ ।
लमजुङ विद्युत वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराईका अनुसार जिल्लाका १७ आयोजनाबाट करिब ३०० मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत, ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’, ५० मेगावाटको अपर मस्र्याङ्दी, ३० मेगाावट क्षमताको न्यादी हाइड्रोपावर, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको अपर दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी–१, ७ मेगावाटको उपर मिदिम लगायतका जलविद्युत आयोजना सञ्चालनमा छन् ।
उनका अनुसार जिल्लामा चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म दुई करोड ३९ लाख, आठ हजार ९२५.९० युनिट बिजुली बिक्री भएको छ । त्यसबाट १९ करोड ५३ लाख ५४ हजार रुपैयाँ उठेको छ । जिल्लामा हाल ११ जलविद्युत् आयोजना निर्माणाधीन छन् ।
केन्द्रका अनुसार मर्स्याङ्दी बेँसी ५० मेगावाट, सुपर न्यादी हाइड्रो ४०.२७, अपर खुदी २१.२१, न्यादी फिदी २१ मेगावाट, मिदिमखोला-१ आयोजनाबाट १३.४२४, १२.६ मेगाावट क्षमताको लोयर न्यादी, ६.८२ मेगावाट क्षमताको हिदीखोला, ४.८ मेगावाट क्षमताको मिडिल मिदिम, दुई मेगावाट क्षमताको चेपेखोला क्यास्केड, १.६ मेगावाटको लोदोखोला साना आयोजना र ०.९९६ मेगावाट क्षमताको लोअर मिदिम आयोजना निर्माणाधीन छन् ।
लमजुडमा दुई हजार ५०० मेगावाट क्षमता विद्युत् उत्पादन हुनसक्ने अनुमान छ ।