चैत्र २३, काठमाण्डौ । स्पेनमा नोभेल कोरोना भाइरसको संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्यामा कमी आएको छ । पछिल्लो केही दिन यता हरेक दिन हुने संक्रमितको मृत्युमा कमी आएको यो तेस्रो दिन हो ।
स्पेनमा आइतबार ६७४ कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार ८०९ जनाको मृत्यु भएको स्पेनमा शुक्रबार ९३२ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
हालसम्म मृत्यु हुनेको संख्या भने स्पेनमा १२ हजार ४१८ पुगेको छ भने कोरोना संक्रमितको संख्या एक लाख ३० हजार ७५९ पुगेको छ । स्पेन यस साता गम्भीर माइलस्टोनमा पुगेको छ । शनिबार इटालीमा कोरोना संक्रमितको संख्या इटालीभन्दा बढी पुगेको भए पनि दैनिक कोरोना संक्रमितको संख्यामा पनि कमी आइरहेको बताइएको छ ।
स्पेनमा आइतबार कोरोना संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या २६ मार्च यता अर्थात १० दिनयताकै कम हो । यद्पि कोरोना नियन्त्रण भने हुन नसकेको बताइएको छ । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी तीन साताका लागि लकडाउनको समयावधि बढाएका छन् । मुलुकका मानिसहरु घर बाहिर ननिस्किएर जीवन बचाउन सकिने भएकोले २६ अप्रिलसम्म लकडाउनको समयावधि बढाइएको प्रधानमन्त्री सान्चेजले बताएका छन् । उनले बाँकी युरोपियन मुलुकले थप सजगता अपनाउनुपर्ने चेतावनी दिएका छन् ।