फाल्गुण ६, काठमाण्डौ । बालुवाटार जग्गा बिक्री प्रकरणमा अख्तियारले सरकारको छायाँमा बनेर काम गरेको भन्दै कांग्रेस सांसद गगन थापाले व्यंग्य गरेका छन् । मंगलबार बसेको प्रतिनििधसभा बैठकको शून्य समयमा बोल्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा महासचिव विष्णु पौडेलमाथि व्यंग्य गरेका हुन् । उनले स्वस्थानी ब्रत कथाकै शैलीमा कथा सुनाउँदै व्यंग्य गरे ।
यस्तो छ संसदमा गगनले गरेको व्यंग्य
कुमारजी आज्ञा गर्नु हुन्छ। हे विष्णुमुनी । अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुनेगरी किन्नु । थाहपाइ हाले होइन, होइन भन्नु। चित्त बुझाउन नसकेर अप्ठ्यारोमा परे हत्तपत्त सामान फर्काउनु र दुई पटक बिष्णु बिष्णु भन्नु। त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा गएर खड्ग उचाल्नु र चार पटक बिष्णु बिष्णु भन्नु । त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नुपर्नेले देख्ने छैनन् । इति अख्तियार पुराणे कुमार बिष्णु संवादे । स्वस्थानी ब्रत कथायँ। बालुवाटार प्रकरणम् वर्णनाम् प्रथम अध्याय धन्यवाद ,