फाल्गुण ८, काठमाण्डौ । सेक्युरिटी प्रिन्टिङ प्रेसमा ७० करोड रुपैयाँ कमिसनको बार्गेनिङ गरिरहेको फोन रेकर्ड सार्वजनिक भएसँगै विवादमा तानिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले पदबाट राजीनामा दिइसकेका छन् । तर सूचना प्रविधि क्षेत्रका प्रायः सबैजसो ठेक्कापट्टामा अनियमितताका मूख्य शुत्रधार रहेका सुरक्षण मुद्रणका कार्यकारी निर्देशक विकल पौडेल भने अमेरिका भाग्ने योजना बनाइरहेका छन् ।
सञ्चारमन्त्रालय निकट विशेष श्रोतका अनुसार पौडेलले शुक्रबार अमेरिका उड्ने योजनाका साथ हवाई टिकट समेत बुक गराइसकेका छन् । सुरक्षण मुद्रणको अनियमिततामा समेत निवर्तमान मन्त्री बाँस्कोटालाई पौडेलले नै सघाएका थिए । अहिले उनी राष्ट्रिय सूचना प्रविधि केन्द्र अन्तर्गतका ठेक्का पट्टाको लेनदेनको हिसाव मिलाउन शक्रिय रहेको बुझिएको छ । पौडेले समेत आफू अमेरिका जान लागेको कुरा स्वीकार गरेका छन् । टेकपानासँगको टेलिफोन कुराकानीमा उनले पुर्वनिर्धारित योजना अनुसार शुक्रबार विहान अमेरिका उड्न लाागेको जानकारी दिए ।