फाल्गुण १५, काठमाडौं । प्रतिनिधिसभाका सदस्यले भ्रष्टाचार र अनियमितता नियन्त्रण तथा सार्वजनिक जग्गा अतिक्रमण रोक्न सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकको विशेष समयमा उनीहरुले हालै सार्वजनिक भएका विभिन्न भ्रष्टाचारका काण्डमा छानबिन गरी दोषीलाई कारवाही गर्न तथा नेपाल ट्रष्ट र गुठीका जग्गासम्बन्धी विवाद समाधान गर्न माग गरे ।
सांसद जनार्दन शर्माले हालै सार्वजनिक गरिएको नेपाल ट्रष्टको सम्पत्तिसम्बन्धी श्वेतपत्रमा विनाकारण आफ्नो नामसमेत उल्लेख भएको भन्दै आपत्ति जनाएका थिए । उनले आफूले ट्रष्टको कार्यालय पुगेर तथ्य बुझ्ने क्रममा कर्मचारीले समेत आफ्नो कुनै संलग्न नभएको बताए पनि श्वेतपत्रमा किन नाम उल्लेख गरियो भनी सरकारसँग जवाफ माग गर्नुभयो । पूर्वगृहमन्त्री शर्माले भने, “यो श्वेतपत्र हो कि, अश्वेतपत्र हो”, उनले राज्य व्यवस्था समितिमा आफू विधानप्रतिकूलका विधेयक सच्याउन अन्य सांसदसँगै लागेको र भ्रष्टाचारमुक्त समाज निर्माणमा लागेको हुनाले आफ्नो नाम उल्लेख गरिएको हो कि भनी आशङ्का व्यक्त गरे ।
सांसद अतहरकमाल मुसलमानले रु ५० अर्बभन्दा बढीका आयोजना विनाप्रतिस्पर्धा ठेक्कामा दिन लागिएको हो भनी आफूले सदनमा प्रश्न गर्दा प्रधानमन्त्रीले जवाफ दिँदै त्यस्ता आयोजना विनाप्रतिस्पर्धा ठेक्कामा दिइँदैन भनेको तर अहिले सोही विषयको विधेयक अघि बढाइएको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद महीन्द्रराय यादवले तराई–मधेशको ‘लाइफलाइन’ हुलाकी राजमार्ग निर्माणमा ढिलाइ भएको प्रति सरकारको ध्यानाकर्षण गराए ।
सांसद रामबाबुकुमार यादवले वीरगञ्जमा केही प्रहरीले स्थानीय किसान र व्यापारीमाथि ज्यादती गरेको भन्दै दोषीलाई कारवाहीको माग गरे । सांसद दुर्गा पौडेलले सेक्युरिटी प्रेस खरसीदसम्बन्धी हालै सार्वजनिक भएको अडियोको सम्बन्धमा छानबिन गरी सो प्रकरणमा पर्दा पछाडि रहेका सबैलाई कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरे । उनले सो सम्बन्धमा प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने पनि बताए । सांसद प्रेम सुवालले हालै संसद् सचिवालयमा अघि बढेको पर्यटन मन्त्रालयसँग सम्बन्धित विधेयकमा भाषागत र अन्य धेरै त्रुटि देखिएको उल्लेख गर्दै गल्ती गर्नेले राजीनामा दिनुपर्ने माग गरे ।
सांसद पदम गिरीले वर्तमान सरकारका कार्यले मुलुकमा आर्थिक सुधार र विकास निर्माणका काम अघि बढेको उल्लेख गर्दै सरकारले भ्रष्टाचार नियन्त्रणको अभियान अघि बढाएसँगै भ्रष्टाचारी त्रसित भएको जिकिर गरे । सांसद भीमसेनदास प्रधानले ऐतिहासिक काठमाडौँको टुँडिखेल बसपार्क र विभिन्न व्यवसाय तथा सङ्घसंस्थाको अतिक्रमणको चपेटामा परेको छ भन्दै टुँडिखेल अतिक्रमणबाट जोगाउन काठमाडौँवासी नै सडकमा उत्रिनुपर्ने हो कि भनी सरकारलाई प्रश्नगरे ।
सांसद बृजेशकुमार गुप्ताले लुम्बिनी क्षेत्रमा बाटो निर्माणमा भएको ढिलाइ र गुणस्तरहीनताप्रति सरकारको ध्यानाकर्षण गराइन् । सांसद पुष्पा भुसालले बारामा नेपाली काँग्रेसका कार्यकर्तामाथि आक्रमण गर्ने र बदनाम गर्ने तथा झुटा मुद्दा लगाउने काम भएको भनी आपत्ति जनाए । सांसद इन्दुकमारी शर्माले नागरिकताजस्तो महत्वपूर्ण विषयको विधेयक पारित गर्न भएको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै तत्काल अघि बढाउन आग्रह गरिन् ।
सांसद मोहम्मद इस्तियाक राईले गुठीका जग्गा अतिक्रमण भएको जनाउँदै सत्यतथ्य छानबिन गर्न माग गरे । उनले नागरिकतासम्बन्धी नयाँ कानून बन्न नसक्दा धेरै विद्यार्थी उच्च शिक्षा अध्ययन र रोजगारीको अवसरबाट वञ्चित हुनुपरेकाले तत्काल सो विधेयक पारित गर्न माग गरे ।
रासस