पदम कुँवर र रतन तिरुवा, जसले प्रचण्डमाथि हात उठाए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन १८, आईतबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

फाल्गुण १८, काठमाण्डौ । मुलुकमा चलेको १० वर्षे सशस्त्र युद्धको नेतृत्व तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिए । युद्धलाई शान्तिमा परिणत गर्दै शान्ति प्रक्रियामार्फत माओवादी खुला राजनीतिमा आयो । नेकपा माओवादी शान्ति प्रक्रियाबाट खुला राजनीतिमा आएसँगै प्रचण्डले एकीकृत माओवादी, माओवादी केन्द्र हुँदै अहिले नेकपाको नेतृत्व लिइरहेका छन् । तर, माओवादी युद्धकालको घटनालाई सम्झिएर आफ्नै कार्यकर्ताले प्रचण्डमाथि हात उठाउन थालेका छन् ।

युद्धमा देखाइएको सपना पूरा नभएपछि आफ्नै कार्यकर्ताबाट प्रचण्ड जोगिएर हिँड्नु पर्ने अवस्था सृजना भएको स्वयम् कार्यकर्ताहरु बताउने गर्छन् । आइतबार राष्ट्रियसभा गृहमा आयोजित पूर्वमन्त्री तथा नेकपा नेता स्वर्गीय भरतमोहन अधिकारी स्मृतिसभामा प्रचण्डमाथि आफ्नै कार्यकर्ताले जुत्ता प्रहार गरेका छन् ।

सभालाई सम्बोधन गरेर फर्कने क्रममा जुम्लाका रतन तिरुवाले प्रचण्डलाई लक्षित गरेर जुत्ता प्रहार गरेका हुन् । तर, दर्शकदीर्घाबाट उनले प्रहार गरेको जुत्ता मञ्चमा पुगेन । उनी हाल प्रहरी नियन्त्रणमा छन् ।

प्रचण्डमाथि आक्रमण भएको यो पहिलोपटक भने होइन । यसअघि २०६९ सालमा भृकुटीमण्डपमा भएको कार्यक्रममा प्रचण्डमाथि पदम कुँवर नाम गरेका युवकले गालामा थप्पड हानेका थिए । तत्कालीन एकीकृत माओवादी नेतृत्वमा रहेको २२ दलीय मोर्चाले दसैं, तिहार र छठ लगायतका पर्वको अवसरमा आयोजना गरिएको चियापान कार्यक्रममा कुँवरले प्रचण्डको गालामा थप्पड हानेका थिए ।

चियापानमा सर्वसाधारणको लाइनमा उभिएर प्रचण्डसँग मञ्चमा हात मिलाउन पुगेका बेला कुँवरले प्रचण्डको गालामा झापड हाने । प्रचण्डलाई थप्पड हानेपछि कार्यकर्ताको कुटाइबाट घाइते भएका कुँवर पूर्वमाओवादी कार्यकर्ता थिए । माओवादी आन्दोलनका नाममा युद्धभर बन्दुक बोकाएर शान्ति प्रक्रियामा आएपछि भ्रष्टाचारको थुप्रोमाथि प्रचण्ड उभिएको भन्दै आफूले थप्पड हानेको प्रतिक्रिया दिएका थिए ।

केही दिन प्रहरीको हिरासतमा रहेका कुँवर प्रचण्डले माफी दिएपछि मुक्त भएका थिए । उनीपछि दोस्रो संविधानसभाको चुनावमा काठमाडौं १० मा प्रचण्डसँगै सभासद पदको निर्वाचनमा प्रतिस्पर्धी बने । उनले सो चुनावमा ३८ मत पाएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस