मंसिर १६, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक विवादको तरङ्ग प्रतिपक्षी दल जनता समाजवादी पार्टीमा पनि देखिएको छ । नेकपाभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको विवाद फुटसम्म पुग्ने चर्चा चलिरहँदा जसपाको एकीकरण प्रक्रिया नै प्रभावित हुन पुगेको छ । राष्ट्रिय जनता पार्टी र संघीय समाजवादीबीच एकीकरण भएर गठन भएको जनता समाजवादी पार्टीको केन्द्रीय र संघीय परिषद् गठन भइसकेको छ । तर स्थानीय, प्रदेश र जिल्ला तहको समायोजनको प्रक्रिया बाँकी नै छ ।
मंसिर मसान्तभित्र समायोजन सक्ने भन्दै तल्लो तहमा केन्द्रले परिपत्र नै पठाएको थियो । तल्लो तहका पार्टी समिति र भ्रातृसंस्था समायोजन कसरी गर्ने परिपत्रमा प्रष्ट व्यवस्था गरिए पनि सोअनुसार समायोजन अघि बढ्न सकेको छैन ।