मंसिर २५, काठमाण्डौ । गृह मन्त्रालयले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह हिंसात्मक गतिविधितर्फ उन्मुख भएको निष्कर्ष निकालेको छ । विप्लव समूहले मोरङको मिक्लाजुङमा शिक्षकको हत्या गरेको भोलिपल्ट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बुधबार केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बोलाएका थिए ।
गृह मन्त्रालयमा बसेको बैठकमा नेपाल प्रहरीका महानिरीक्षक आईजीपी शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायत सहभागी थिए । उनीहरुले विप्लव समूहको पछिल्लो गतिविधिबारे रिपोर्टिङ गरेका छन् । छलफल विप्लव समूहको गतिविधि, त्यसमा पनि मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा बढी केन्द्रित थियो ।
विप्लव समूहले हिजोका दिनमा कालोमोसो दल्ने, विष्फोटनका घटना गराएर तर्साउने गरेको भएपनि पछिल्लो समय नीति परिवर्तन गरेको देखिएको गृहमन्त्री बादलको विश्लेषण छ ।