फागुण २०, काठमाण्डौ । काठमाण्डौ चन्द्रागिरि नगरपालिकाले जथाभावीरुपमा राजमार्ग क्षेत्रमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन शुरु गरेको छ । कलङ्की–नागढुङ्गा–पिपलामोड सडकमा जथाभावी रुपमा राखिएका बिजुली, टेलिफोन, केबल, इन्टरनेटका तार, विज्ञापन ब्यानर, पम्प्लेट नगरपालिकाको सौन्दर्यता बिग्रँदै गएको र सडक क्षेत्र कुरुप बन्दै गएको भन्दै हटाउन सुरु गरेको हो । नगरपालिका काठमाडौँ प्रवेशद्वारको मुख्य नाकासमेत भएकाले यस क्षेत्रमा धेरै विज्ञापन ब्यानर र पम्प्लेट राखिएका छन् । चन्द्रागिरिमा काठमाडौँ भित्रिने पृथ्वी राजमार्गको ११ किलोमिटर सडक पर्दछ ।
नगरपालिकाका प्रमुख घनश्याम गिरीले सुन्दर चन्द्रागिरि निर्माणका लागि राजमार्ग क्षेत्रमा जथाभावीरुपमा राखिएका विज्ञापन ब्यानर, पम्प्लेट र अव्यवस्थित राखिएका बिजुली, टेलिफोन, केबल, इन्टरनेटका तार हटाउन लागेको जानकारी दिए । नगरपालिकाले नयाँ सेवा प्रदायक कम्पनी वा संस्थालाई नगरपालिकाको स्वीकृत लिएर मात्र सेवा प्रदान गर्न आग्रह गरेको छ । नगरपालिकाले यसअघि उक्त राजमार्ग क्षेत्रमा रु एक करोडको लागतमा ६७ अत्याधुनिक सिसी क्यामरा जडान गरिसकेको छ ।