फागुण २१, काठमाण्डौ । दुई पक्षबीच भएको सहमतिको विस्तृत विवरण शुक्रबार दिउँसो २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने भएको छ । समारोहलाई सरकारका तर्फबाट प्रधानमन्त्री केपी ओली र नेकपाका तर्फबाट महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ । दुई वर्षदेखि भूमिगत रहेका विप्लवलगायत माथिल्लो तहका नेताहरू शुक्रबारकै कार्यक्रमबाट सार्वजनिक हुनेछन् ।
सरकारसँग तीनबुँदे सहमति गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आएको छ । यससँगै सरकारले विप्लव नेकपामाथि दुई वर्षअघि लगाएको प्रतिबन्ध पनि फुकुवा गरेको छ । सरकार र विप्लव नेकपाबीच बिहीबार भएको तेस्रो चरणको वार्ता सहमतिमा पुगेको हो । यसअघि बुधबार दुई चरणमा वार्ता भएको थियो । सहमतिअनुसार सरकारले नेकपामाथिको प्रतिबन्ध हटाउँदै पक्राउ गरिएका बन्दीको रिहाइ र मुद्दा खारेजी गर्नेछ । त्यस्तै, नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्नेछ ।
‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । उक्त सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायत विषयहरू रहेका छन्,’ सहमतिपछि दुवै वार्ता टोलीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा सरकारी वार्ता टोलीका प्रमुख गृहमन्त्री रामबहादुर थापा र नेकपाका प्रवक्ता तथा वार्ता टोली प्रमुख खड्गबहादुर विश्वकर्मा प्रकाण्डको हस्ताक्षर छ ।