फागुण २९, काठमाण्डौ । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले रेशम चौधरी लगायतका नेताहरूको रिहाइको शर्तमा केपी ओली सरकारलाई समर्थन गर्न नसकिने बताएका छन् । जसपाको महन्थ ठाकुर पक्ष जेलमा रहेका चौधरीसहितका नेताहरुको रिहाइको शर्तमा ओली सरकारलाई समर्थन गर्न सकिने गरी चरणवद्ध छलफलमा रहेको अवस्थामा नेता भट्टराईको यस्तो धारणा बाहिर आएको हो ।
एमालेको झापा विद्रोहदेखि विप्लवको सशस्त्र गतिविधिसम्मका विषय राजनीतिक मुद्दाका रूपमा हल भइरहेको अवस्थामा रेशम चौधरीसहितका थारु विद्रोहका नेताहरु किन रिहाइ नहुने ? भन्ने प्रश्न पनि भट्टराईले गरेका छन् ।
‘रेशम चौधरी लगायतका थारू विद्रोहका नेताहरूको रिहाइको माग प्रतिगमनकारी ओली सरकारलाई समर्थन वा त्यसमा सहभागिताको शर्तमा हैन र हुनसक्दैन,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एमालेको झापा विद्रोहदेखि विप्लबको सशस्त्र गतिविधिसम्म राजनीतिक मुद्दाका रूपमा हल हुनसक्छन् भने थारूको मात्र किन नहुने ? भन्ने हो कुनै भ्रम नरहोस्’