बुढानीलकण्ठमा देउवा, पौडेल र सिटौलाबीच भेटवार्ता हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण २७, बुधबार (३ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन २७, काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनबारे शीर्ष नेताहरुबीच भेटवार्ता हुँदैछ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताहरुबीच दिउँसो २: ३० बजे छलफल हुने भएको हो ।

बुधबार देउवाको निजी निवास बुढानीलकण्ठमा महाधिवेशनको नयाँ कार्यतालिका र क्रियाशील सदस्यता विवादबारे छलफल हुने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

भदौ १६–१९ गतेका लागि निर्धारित महाधिवेशनको कार्यतालिका प्रभावित हुने निश्चित भएपछि कांग्रेसभित्र पार्टी वैधानिकता जोगाउन भन्दै विभिन्न विकल्पमाथि छलफल भइरहेको छ । वरिष्ठ नेता पौडेल निर्धारित मितिमै महाधिवेशन गर्नुपर्ने अडानमा छन् भने सभापति देउवा मंसिरमा महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याउने पक्षमा छन् । देउवाको प्रस्ताव महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री सिटौला सकारात्मक छन् ।

सभापति देउवाले नयाँ कार्यतालिकाबारे छलफल गर्न बिहीबार केन्द्रीय समिति बैठक बोलाएका छन् । केन्द्रीय समिति बैठक अघि कार्यतालिकाबारे पार्टीभित्र समझदारी बनाउन शीर्ष नेताहरुबीच छलफल हुन लागेको देउवानिकट एक नेताले बताए ।

सभापति देउवाले मंगलबार संस्थापनइतर समूहका नेताहरु डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल र गगनकुमार थापासँग महाधिवेशनबारे छलफल गरेका थिए । केन्द्रीय सदस्य रिजालले केन्द्रीय समिति बैठकअघि कार्यतालिकाबारे शीर्ष तहमा सहमति जुटाउन देउवालाई आग्रह गरेका थिए ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस