कार्तिक १२, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिएका छन् । प्रधानमन्त्री देउवा आज बेलायत प्रस्थान भएसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खाँणलाई दिएका हुन् ।
प्रधानमन्त्री विदेश जाँदा उपप्रधानमन्त्री वा सिनियर मन्त्रीलाई कार्यवाहक प्रधानमन्त्री दिने चलन छ । यसपालि प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री नै नियुक्त गरेका छैनन् ।
मन्त्रिपरिषदमा प्रधानमन्त्री देउवापछि बरियताक्रममा गृहमन्त्री खाणलाई राखिएकोले उनलाई नै कार्यवाहक प्रधानमन्त्रीको जिम्मा दिइएको हो ।
गृहमन्त्री खाणको सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खाणलाई दिएका छन् र त्यसबारे जानकारीको पत्र राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ ।
साथै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गृहमन्त्री खाणले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।