फागुन ४, काठमाडौँ । अहिले सिंहदरबारतिर एउटा चर्चा छ, ‘प्रधानमन्त्री र अर्थमन्त्रीको सम्बन्ध राम्रो छैन ।’ यही चर्चाको विचमा शुक्रबार बिहान मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राम्रो समन्वय भइरहेको दाबी गरे । भने, ‘कताकता आइरहेको छ, कि अर्थमन्त्रीले बजेट कटौती गरे, त्यसमा प्रधानमन्त्रीको पनि सहमति छैन, प्रधानमन्त्री र अर्थमन्त्रीबीचमा विवाद छ भनेर प्रचार भएको छ । कसले किन यस्तो भ्रमपूर्ण प्रचार गरेको हो ? म आफैँ अचम्मित छु । वास्तवमा प्रधानमन्त्रीसँग कुनै वादविवाद छैन । राम्रो समन्वय र छलफल भइरहेको छ । विवादको कुनै कुरा छैन । यस्तो भ्रमको सञ्चार नगरिदिन मेरो आग्रह छ ।’
अर्थमन्त्री डा महतले चालु आर्थिक वर्षको २ खर्ब भन्दा बढी बजेट कटौती गर्दा थाहा नदिएको कारण प्रधानमन्त्री प्रचण्ड रिसाएको चर्चा छ । अर्थमन्त्री डा। महतले प्रस्टीकरण दिदै माघ मसान्तमा सार्वजनिक गरिएको मध्यावधि समीक्षामा प्रस्तुत गरिएको संशाधित अनुमानलाई कटौती भन्न नमिल्ने जिकिर गरे ।