फागुन १४, काठमाडौँ । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ । उनीहरूले विवादित मन्त्रीहरूको बारेमा संसदमा प्रधानमन्त्रीको जवाफ माग गरेका छन् ।
आकस्मिक समय लिएर एमालेका सांसद गोकुल बास्कोटाले विवादित मन्त्रीहरूको राजीनामाको विषय, मिटरब्याजी,किसानलगायतका विषयमा संसद्मा उठेका प्रश्नको जवाफ माग गरेका थिए । विपक्षीका माग सम्बोधनमा सरकार गम्भीर नभएको बताउँदै विवादित मन्त्रीहरूका विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने चेतावनी समेत दिए ।
बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङ्देनले मिटरब्याज पीडित जनताले न्याय नपाएको, दुग्ध किसानका समस्या समाधानमा सरकार गम्भीर नभएको र लघुवित्त पीडितले न्याय नपाएको उल्लेख गर्दै समस्या समाधानमा ठोस सम्बोधन नभए बैठक अवरोध गर्ने चेतावनी दिए ।
यसैगरी रास्वपा सभापति रवि लामिछानेले विवादित मन्त्रीहरूका बारेमा प्रधानमन्त्रीले तत्काल जवाफ दिनुपर्ने माग गरे। लामिछाने सभामुखबाट स्पष्ट रुलिङ गरेपछि सम्बन्धित मन्त्रीले जवाफ किन नदिएको भनी प्रश्न गरे। उनले लघुवित्त र दूध किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।