तीन दिनभित्र खटाइएको स्थानमा हाजिर हुन काजका कर्मचारीलाई स्वास्थ्य मन्त्रालयको चेतावनी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ २८, बुधबार (१ दिन अघि)
  • ८५ पटक पढिएको
तीन दिनभित्र खटाइएको स्थानमा हाजिर हुन काजका कर्मचारीलाई स्वास्थ्य मन्त्रालयको चेतावनी

जेठ २८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा मातहतका निकायमा सरुवा भए पनि हाजिर नगराइएका कर्मचारीलाई तीन दिनभित्र हाजिर नगराए कारबाही गर्ने चेतावनी दिएको छ ।

सरुवा भए पनि कर्मचारीहरुलाई हाजिर नगराइएको तथा काजमा लामो समय कार्यरत रहेको गुनासो पछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यसलाई रोक्न तीन दिनभित्र हाजिर गराउने व्यवस्था गर्न अधिकारीहरुलाई भनेको उनको सचिवालयले जनाएको छ ।

लगत्तै मन्त्रालयको कर्मचारी प्रशासन शाखाले अस्पताल तथा मातहतका कार्यालयमा पत्र पठाउँदै तीन दिनभित्र कर्मचारीहरुलाई हाजिर नगराए विभागीय कारबाही तथा सेवा सुविधा वागतको रकम असुलउपर गर्ने सचिवस्तरीय निर्णयको ब्यहोरासहितको पत्र पठाएको हो ।

स्वास्थ्य सेवामा आफ्नो दरबन्दीभन्दा बाहिर काजमा बस्ने प्रवृत्ति धेरै रहेको र यसकै कारण सरुवा भएकालाई समेत हाजिर गराउन नसकिएको गुनासो सुनिने गरेको थियो । सोही गुनासो सम्बोधन गर्न मन्त्रालयले कडा चेतावनीसहितको पत्र पठाएको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अटेर गरेमा विभागीय कारबाही गरिने बताए ।

‘..काजमा कार्यरत र सरुवा भई रमाना हुन बाँकी कर्मचारीलाई पदाधिकार रहेको निकायमा हाजिर हुन पठाउने र पदस्थापना नभएका कर्मचारीको पदस्थापन गर्ने कार्य तीन दिनभित्र सम्पन्न गरी यस मन्त्रालयलाई जानकारी गराउनु हुन साथै उक्त बमोजिम कार्य नगर्ने कार्यालय प्रमुखबाट काजमा रहेका र रमाना हुन बाँकी कर्मचारीले भुक्तानी लिएको तलबभत्ता लगायतका सेवा सुविधा वापतको रकम असुल गरी नियमानुसार विभागीय कारबाही समेत हुने व्यहोरा नेपाल सरकार (सचिवस्तर) को मिति २०८२/२/२८ को निर्णयानुसार अनुरोध गरिन्छ,’ पत्रमा भनिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस