फागुण १५, काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितका कोषाध्यक्ष रेवतराज पुरी गगनले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै विशेष अदालतले गरेको फैसला, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफूविरूद्ध अभियोग दर्ता गरेकाले पदबाट राजीनामा दिएको जानकारी दिएका छन् ।
सम्पत्ति शुद्धिकरण मुद्दामा विशेष अदालतले सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गर्दै चार करोड बढी रकम जरिवाना गरेको थियो । त्यस्तै आइतबार मात्रै उनीविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । झापाको दमक नगरपालिका– १३ र १४ स्थित ‘बालुवाटार’ को ३८४ रोपनी जग्गा निजीकरण गरेको आरोपमा नौं सरकारी कर्मचारीसहित १८७ जनाविरूद्ध मुद्दा दायर गरेको थियो । अख्तियारले गगन पुरीविरूद्ध तीन करोड ३५ लाख ७६ हजार ८८० रुपैयाँ जरिवाना माग गरेको थियो । उनले लिएको जग्गा पनि जफत गर्न अख्तियारले मागेको छ । यी दुई मुद्दामा मुछिएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।