जेठ २८, काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
विपक्षी दलको अवरोधका कारण आजको बैठक पनि नियमित कार्यसूचीमा प्रवेश गर्छ कि गर्दै भन्ने निश्चित छैन । सहमतिका लागि दलहरुबीच पटकपटक छलफल भए पनि निष्कर्ष निस्कन सकेको छैन । ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार सदनमा अवरोध गर्दै आएका छन् ।
जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न दिए पनि २० गतेबाट बोलाइएका कुनै पनि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेका छैनन् ।
आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्ने कार्यसूची छ ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रहरुबारे जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।