भाद्र २२, काठमाडौँ । नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले कोरोना बीमा मापदण्ड, २०७७ बमोजिम सात दिनभित्र बीमादाबी भुक्तानी दिने व्यवस्था गर्ने भएको छ । कोरोना बीमाका सम्बन्धमा पछिल्ला दिनमा देखिएको दुविधा हल गर्नेभन्दै समितिले सरोकारवाला पक्षसँगको छलफलका आधारमा सो व्यवस्था लागू गर्ने भएको हो ।
आइबारसम्म बीमा कम्पनीमा प्राप्त भएका सबै दाबीमध्ये स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका निकायबाट पिसिआर परीक्षणअनुसार प्राप्त भएका दाबीलाई भुक्तानी दिने निर्णय भएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायभन्दा बाहेकका प्रयोगशालाबाट प्राप्त दाबीको विस्तृत छानबिन गरी कोरोना बीमा मापदण्ड, २०७७ को दफा १६ बमोजिम समितिका कार्यकारी निर्देशकको संयोजकत्वमा अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रतिनिधि सम्मिलित अनुदान व्यवस्थापन समितिले छानबिन गरी सो समितिले दिने सुझावका आधारमा बीमा दाबी भुक्तानी गर्ने निर्णय भएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।