भाद्र २२, काठमाडौँ । युरिया मल ल्याउने कबुल गरी ठेक्का हात पारेका ठेकेदार कम्पनीले मल ल्याउन नसकेपछि सरकारको कारबाहीमा परेका छन् । धरौटी बापत राखेको दुई वटै कम्पनीको नौ करोड ४५ लाख ११ हजार ४१९ रुपियाँ जमानत रकम जफत गर्ने निर्णय सरकारले गरेको हो । कृषि सामग्री कम्पनी लिमिटेडको आजको बैठक अनुसार मल ल्याउने ठेक्का लिएका शारदाप्रसाद अधिकारी नेतृत्वको शैलुङ इन्टरप्राइजेज प्रा।लि। र हुमनाथ कोइराला नेतृत्वको होनिका मल्टिपल प्रा।लि। लाई कारबाही गर्ने निर्णय गरेको हो ।
शैलुङले धरोटीबाफत चार करोड ८८ लाख ४९ हजार ४४ रुपियाँ र होनिकाले चार करोड ५६ लाख ६२ हजार ३७५ रुपियाँ राखेका थिए । प्रा।लि।ले गरेको कबुलअनुसार काम गर्न नसकेपछि प्रचलित कानुन, सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार धरौटी जफत गर्ने निर्णय भएको सरकारले भनेको छ । सम्झौताअनुसार २०७७ साउन ७ गतेभित्र कबोलअनुसारको युरिया मल प्रा।लि।ले ल्याइसक्नुपर्ने थियो । तर २५ दिनको म्याद थप गर्दासमेत भाद्र २० गतेसम्म पनि मल ल्याउन नसकेपछि कम्पनीले सो निर्णय गरेको बताएको छ ।
दुवै कम्पनीले २५–२५ हजार मेट्रिक टन युरिया मल ल्याउने कबोल गरेका थिए । कम्पनीले दुवै प्रा।लि। सँग सम्झौता रद्द गरी क्षतिपूर्ति र कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउने पत्रमार्फत जानकारी गराएको छ । कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुषालले ठेक्का लिएका दुवै कम्पनीले कबोल गरेको मल ल्याउन नसकेपछि सरकारले बङ्गलादेशबाट ५० हजार मेट्रिक टन युरिया मल सापटी ल्याउने प्रक्रियामा गएको बताए । पन्ध्र दिनभित्र मल नेपाल आईपुग्ने उनले बताए ।
नेपालमा आइपुग्नेबित्तिकै युरिया मल सोझै गाउँपालिकामा जाने उनले प्रष्ट पारे । अब आउने दिनमा त्यस्तो मलको हाहाकार नहुने गरी व्यवस्थापनको काम मन्त्रालयले गरेको मन्त्री भुषालले प्रष्ट पारे । ठेक्का लिएर आपूर्तिमा लापरवाही गर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्ने निर्णय भएको मन्त्री भुषालले जानकारी दिए ।