फागुन १५, काठमाण्डौँ । सर्लाहीस्थित पूर्व पश्चिम हुलाकी सडक अन्तर्गत कौडेना गाउँपालिका वडा ३ मा गए राति स्कारपियो र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
गए राति साँढे ८ बजेको समयमा भएको उक्त दुर्घटनामा परेर मोटरसाइकलमा सवार रौतहट माधवनारायण नगरपालिका वडा ६, का २३ वर्षीय शियानन्दन महतो र सोही ठाउँका १९ वर्षीय अजय महतोको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पन्जियार थारुले जानकारी दिए ।
दुर्घटनामा घाइते दुवै युवकलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए। मलंगवाबाट कौडेनातर्फ जाँदै गरेको भारतीय एचआर ५९ ए ०१३१ नम्बरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको भारतीय बीआर ०६ सी वाइ ५०८६ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको डीएसपी थारुले जानकारी दिए ।
दुर्घटना लगत्तै प्रहरीले स्कारपियो प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजी भईरहेको प्रहरीले जनाएको छ । मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।