असार २, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्ने वा कायमै राख्ने भन्ने बहस पुन सुरू भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइई परीक्षा कायमै राख्नुपर्ने लगायत ३३ बुँदे प्रस्ताव अघि सारेसँगै यो विषय पुनःबहसमा आएको हो ।
विद्यालय शिक्षा विधेयकका सम्बन्धमा गठित उपसमितिले भने एसइई नहुने अर्थात् खारेज गर्ने सहमति गरेर प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई प्रतिवेदन बुझाएको थियो ।
विद्यालय शिक्षा विधेयकको उपसमितिका संयोजक छविलाल विश्वकर्माले जिम्मेवार पक्षसँगको अनवरत छलफलपछि नै प्रतिवेदनलाई अन्तिम रूप दिइएको बताएका छन् । तर, प्रतिवेदनमाथिको छलफलका क्रममा शिक्षामन्त्री रघुजी पन्तले खारेज गर्न नपर्ने प्रस्ताव पेश गरेका छन् ।
नेपाल शिक्षक महासंघले पनि एसइई खारेज नगर्न माग गर्दै आएको छ । मन्त्रालयले एसइई परीक्षा खारेज नभइ बरू प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव गरेको छ । कक्षा–१० उत्तीर्ण पश्चात् विभिन्न शिक्षाका धारमा अध्ययन गर्नसक्ने भएकाले परीक्षा प्रणाली र मूल्यांकन मापदण्डमा एकरूपता कायम गर्न एसइई आवश्यक रहेको मन्त्रालयको निष्कर्ष छ ।
शिक्षाविद्हरूले भने एसइई परीक्षा खारेज गर्नुपर्ने सुझाव सरकारलाई दिएका छन् । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले एसइई परीक्षा खारेज गर्नु ठिक रहेको बताएका हुन् । केही नेताहरूले समेत एसइई परीक्षा बढी खर्चिलो र यसले विद्यार्थीलाई त्रास मात्र दिने गरेको भन्दै खारेज गर्न सुझाव दिएका छन् ।
२०८१ सालको एसइई परीक्षाको नतिजा भने यही असारभित्रमा प्रकाशित गर्ने तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० का उप–नियन्त्रक तारानाथ निरौलाका अनुसार अहिले परीक्षण केन्द्रहरूबाट उत्तरपुस्तिका परीक्षण सकिएर केन्द्रमा आउने क्रम जारी छ ।