असार २, काठमाडौं । काठमाडौँ महानगरपालिका र डिभिजन सडक कार्यालय, काठमाडौँले जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्मको सडक सीमाभित्र रहेका अनधिकृत संरचना हटाउन दोस्रो पटक सार्वजनिक सूचना जारी गरेका छन् ।
भौतिक योजना तथा निर्माण मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार सो क्षेत्रको अरनिको राजमार्ग दायाँबायाँ १५र१५ मिटर गरी सडक सीमा निर्धारण गरिएको छ । सोहीअनुसार नेपाल सरकार र स्थानीय सरकारका निकायहरूको संयुक्त पहलमा २०८२ साल वैशाख १० गते सडक सीमाङ्कन गरी चिनो लगाइएको तथा किला गाडिएको थियो ।
तर सार्वजनिक सडक ऐन २०३१ को दफा १९ विपरीत केही व्यक्तिहरूले नक्सा पास विना वा पास विपरीत सडक सीमाभित्र संरचना निर्माण गरेको अनधिकृत संरचना नहटाएपछि दोस्रो सूचना प्रकाशित गरिएको महानगरले जनाएको छ ।
सूचनामा २०८२ असार मसान्तसम्म आफ्ना अनधिकृत संरचना सम्बन्धित व्यक्तिले स्वयं हटाउनुपर्ने भनिएको छ । यदि तोकिएको समयभित्र संरचना नहटाइएमा सार्वजनिक सडक ऐन २०३१, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा विद्यमान भवन निर्माण मापदण्ड र कार्यविधिअनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।