चैत्र २१, काठमाण्डौ । अस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठन सिसिरोले कोरोनाभाइरस प्रतिरोधी खोप भ्याक्सिनको परीक्षण सुरु गरेको छ । सिसिरोले मेलबोर्नबाट ७५ किलोमिटर दक्षिणको गीलोङस्थित अस्ट्रेलियाली पशु स्वास्थ्य प्रयोगशाला ९एएएचएल०मा पहिलो चरणको परीक्षण आरम्भ गरिएको बिहीबार घोषणा गरेको हो ।
यो परीक्षण करिब तीन महिनामा सम्पन्न हुनेछ । यो भ्याक्सिनको प्रभावकारिता र सुरक्षात्मक स्थितिका बारेमा एक प्रकारको मुसामा परीक्षण गर्न लागिएको सिसिरोले जनाएको छ । सिसिरोका प्रमुख कार्यकारी ल्यारी मार्शलका अनुसार कोरोना भाइरस विरुद्धको अभियानमा यो एउटा कोशेढुंगा हुने छ । यस कार्यमा अस्ट्रेलियाली र अन्य मुलुकको अनुभवलाई एकीकृत गरिएको जानकारी उनले दिए ।
उनले मानव स्वास्थ्यका लागि ठूलो चुनौतीका रुपमा देखिएको कोरोना भाइरस विरुद्धको यस अभियानमा आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्नु परेको पनि बताए । संक्रामक रोगको महामारी विरुद्ध गठन भएको विश्वव्यापी सञ्जाल सेपी को सहयोगमा सिसिरोले गत जनवरीदेखि नै कोरोना भाइरस प्रतिरोधी भ्याक्सिन निर्माणको कार्यलाई अघि बढाएको थियो ।