साउन ५, काठमाडौं । मौद्रिक नीतिको राहतले आइतबार चम्किएको सेयर बजार सोमबार फेरि ओरालो लागेको छ । सोमबार खुल्न साथ तीव्र गतिमा बढेको नेप्सेमा दुईपटक सर्किट ब्रेक लागेको थियो तर पछि बजार एकाएक घट्न लाग्यो । पाँच प्रतिशत बढेर १५५६ मा पुगेको नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ ।
सोमबार बजार १४।०९ अंकले घटेर १४६४.९४ बिन्दुमा रोकिएको छ । सोमबार २ अर्ब ८० करोडको सेयर कारोबार भएको छ । परिसूचक उकालो लागेको बेला नाफा बुक गर्ने मध्यम लगानीकर्ताहरूको भीडले गर्दा बजारमा हरियाली टिक्न नसकेको बजार विश्लेषकले बताएका छन् ।
नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले आइतबार सेयर बजारमा उछाल आएको छ । मौद्रिक नीतिले दिएको सहुलियत र राहतले लगानीकर्ता उत्साहित भएका थिए । आइतबार सेयर बजारमा अनियन्त्रित वृद्धि भएपछि तीनपटकसम्म सर्किट ब्रेक लगाउनुपरेको थियो । नेप्से सूचक ८४.२६ अंकले बढेर १४७९.०३ विन्दुमा आइपुगेको थियो ।