फाल्गुण ५, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि बढाएका विकास निर्माणको कामलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो पोखेका छन् । काठमाडौं उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरणको उद्घाटन समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले प्रविधिको सुरुवात भएको समाचार दिनुको सट्टा केही सञ्चार माध्यमले फेरि पनि बाँसुरी नै बजाएको समाचार दिने गरेको बताए । आफूले भनेको विषयलाई हुबहु नराखेर तोडमोड गरी अर्नगल प्रचार गर्ने गरिएको दुखेसो पनि गरेका छन् ।
उनले भने, “कुनै कुनै सञ्चार माध्यमले यो न्युज दिनभन्दा बाँसुरी बजाएको न्युज दिन्छन् भोलि पनि । दया लाग्छ । देश विकास हुन लाग्दा पिर किन परेको त्यो छक्क लाग्छ । कुनै कुनै भन्ने शब्द प्रयोग गर्या छु । कुनै कुनै भन्ने शब्द बिर्सन्छन् अनि यसो भन्यो भनेर कुनै कुनै शब्द काटेर पठाउँछन् । भोलि पनि हेर्नुहोला बाँसुरी बजाएको फोटो छाप्छन् । यो फोटै छाप्दैनन् । ”
उनले बुद्धिजीवीको बौद्धिकता देख्दा दया लाग्ने गरेको बताए । सञ्चारमाध्यमको भूमिका, सञ्चारमाध्यममा आएका समाचार प्रति सधै असन्तुष्टि जनाउँदै आएका प्रधानमन्त्री ओलीले सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा पनि सञ्चारमाध्यमले दिने गरेको प्राथमिकताको विषयमा गुनासो गर्न बिर्सिएनन् ।