फाल्गुण ७, काठमाण्डौ । उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक समृद्धिको पहिलो आधार जैविक कृषि भएको बताएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगर–११ को गाग्रेतालस्थित नेपाल राष्ट्रिय चन्द्रगङ्गा माध्यमिक विद्यालयको एकीकृत जैविक कृषि मोडेल फार्म प्रदर्शनी तथा अनफार्म अनुसन्धान प्लट स्थापना तथा सञ्चालनको उद्घाटनमा उपराष्ट्रपति पुनले आर्थिक समृद्धिको पहिलो आधार कृषि भएको बताए ।
कार्यक्रममा उपराष्ट्रपति पुनले आधुनिक प्रविधिद्वारा मात्र कृषिको विकास हुने बताए। “आधुनिक प्रविधिद्वारा कृषिको विकास जरुरी छ । आधुनिक उत्पादन तथा औद्योगिक क्रान्ति गरेर मात्रै नेपालको समृद्धि सम्भव छ”, उनले भने । “पहिला यहाँको उत्पादन बाहिर जान्थ्यो, अहिले बाहिरको वस्तु आउने गरेको छ । अर्बौं पैसा बाहिर जाने गरेको छ । गाउँमा बाँझो जमिन बढ्दै गएको छ । अब यो समस्या समाधान गर्न समग्र कृषिको आधुनिकीकरण गर्न जरुरी छ”, उपराष्ट्रपति पुनले भने ।