चैत्र १९, काठमाण्डौ । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस (कोभिड (१९) को सम्भावित जोखिम हुन नदिन सामूहिक प्रयासको खाँचो रहेको बताएका छन् । मुख्यमन्त्री निवासमा प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्राप्त सहयोग रकम ग्रहण गर्दै मंगलबार मुख्यमन्त्री पौडेलले आर्थिक सहयोग गर्ने सबै संघसंस्थालाई धन्यवाद दिए ।
यसैबीच उपचार कोषमा सोमबार र मंगलबार गरी २० लाख रुपैयाँ संकलन भएको छ । कोषमा हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको गोर्खा लहरी प्रालिले १० लाख र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सात लाख रुपैयाँ सहयोग गरेको जनाइएको छ । कोषमा हेटौंडा खानेपानी बोर्डले तीन लाख रुपैयाँ सहयोग गरेको छ । बोर्डका अध्यक्ष प्रताप विष्ट र कार्यालय प्रमुख सुदर्शन ढकालले मुख्यमन्त्री पौडेललाई तीन लाख १९ हजारको चेक मंगलबार हस्तान्तरण गरेका हुन् । गोर्खा लहरी प्रालिले जिल्ला समन्वय समितिको कोषलाई समेत एक लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।