साउन ५, काठमाण्डौ । बितेको आर्थिक वर्ष २०७६(०७७ मा बागमती प्रदेशले कुल बजेटको ५८ प्रतिशत मात्र खर्च गर्न सक्षम भएको छ । कुल ४७ अर्ब ६० करोड रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले बितेको असार मसान्तसम्ममा २८ अर्ब ४ करोड रुपैयाँ मात्रै खर्च भएको जनाएको छ ।
जसमध्ये पुँजीगततर्फ १५ अर्ब ५९ करोड रुपैयाँ र चालुतर्फ १२ अर्ब ४४ करोड रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७५(०७६ मा करिब ६१ प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारको बजेट खर्च गत आर्थिक वर्षमा अझै खस्किएर ५८ प्रतिशतमा खुम्चिएको हो ।
लेखा नियन्त्रक कार्यालयका लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायका सबैभन्दा बढी सामाजिक विकास मन्त्रालयले ६६ प्रतिशत खर्च गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको खर्च ६३ प्रतिशत, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ५८ प्रतिशत, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ५६ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २८ प्रतिशत खर्च गरेको छ । त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयले सबै भन्दा कम १८ प्रतिशत खर्च गरेको छ ।