साउन ९, काठमाडौँ । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि नेपालले जारी गरेको बन्दाबन्दीका कारण समग्र अर्थतन्त्रमा व्यापक असर परेको विश्व बैङ्कले जनाएको छ । बिहीबार ‘नेपाल डेभलपमेन्ट अपडेट’ जारी गर्दै विश्व बैङ्कले गत आर्थिक वर्ष ०७६÷७७ मा नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशत मात्र पुगेको जनाएको हो । बैङ्कले चालू आवको आर्थिक वृद्धिदर २.१ प्रतिशत रहने पनि प्रक्षेपण गरेको छ । विगत तीन वर्षमा निरन्तर ६.५ प्रतिशत माथिको वृद्धिदर रहेकोमा बन्दाबन्दीले गत आवमा वृद्धिदर प्रभावित भएको विश्व बैङ्कको निष्कर्ष छ ।
वेबनारमार्फत आयोजित कार्यक्रममा अर्थ मन्त्री डा। युवराज खतिवडाले सार्वजनिक गरेका उक्त अपडेट अनुसार मुद्रास्फीति विगत चार वर्ष यताकै बढी अर्थात् ६।४ प्रतिशत पुगेको उल्लेख छ । त्यस्तै कृषि क्षेत्रको वृद्धिदर गत आवमा २।६ प्रतिशत पुग्ने प्रक्षेपण विश्व बैङ्कको छ । सेवा क्षेत्रको वृद्धिदर भने एक प्रतिशत रहने अपडेटमा उल्लेख छ ।
त्यस्तै औद्योगिक क्षेत्रको वृद्धिदर चार वर्षयताकै कम भई ३।२ प्रतिशत मात्र कायम हुने विश्व बैङ्कले जनाएको छ । वस्तु आयात विगत तीन वर्षयता पहिलोपटक २।८ प्रतिशतले घटेको जनाइएको छ । निर्यात भने २२।१ प्रतिशतले बढेको देखिन्छ । लकडाउनका कारण आर्थिक गतिविधि नहुँदा बैङ्कमा निक्षेप बढेको तर कर्जा भने घटेको पाइएको विश्व बैङ्कले जनाएको छ ।