सुराकीकै कोठामा नक्कली सुुन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ श्रावण १८, आईतबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

साउन १८, काठमाडौँ । अवैध सुन र चाँदी तस्करी सम्बन्धी सुराकी दिने व्यापारी उमेश श्रेष्ठको बागबजारस्थित कोठाबाट थप एक किलो धातु बरामद भएको छ । उक्त धातुको बाहिरी भागमा सुनको जलप र भित्र चाँदी रहेको छ । महानगरीय प्रहरी परिसर प्रमुख श्याम ज्ञवालीले कोठामा लुकाई राखेको अवस्थामा अवैध धातु बरामद भएको जानकारी दिए ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गले गत सोमबार कमलादीबाट बरामद गरेको भनिएको १५ किलो अवैध धातु र दुुई थान पेस्तोल काण्डका मुख्य योजनाकार प्रहरी जवान बहादुर कठायतको बयानका आधारमा श्रेष्ठको कोठाबाट उक्त धातु बरामद भएको हो । प्रहरी परिसर प्रमुख ज्ञवालीका अनुसार दरबारमार्ग प्रहरी वृत्तका सवारी चालक कठायत र श्रेष्ठ साथी हुन् । श्रेष्ठको सुराकीका आधारमा कठायतले सुन–चाँदी तस्करसँंग १५ लाख रुपियाँ नगदको बार्गेनिङ गरेको पाइएको छ ।
त्यस्तै सुन–चाँदी तस्करको समूह बा।६च ५५११ नम्बरको गाडीसहित नक्सालस्थित एक होटलबाट निस्केर बल्खुबाट फरार भएको खबर लुकाउन तिनै चालक कठायतको मुख्य भूमिका देखिएको अनुसन्धानमा संलग्न प्रहरीले बताएको हो । उक्त रहस्यमय घटनाको अनुसन्धानका लागि जवान कठायतलाई प्रहरीले हिरासतमा लिएको छ ।
अवैध धातु ओसारपसारमा सहयोग गरेको अभियोगमा प्रहरीले दुई प्रहरी र अन्य पाँच जना गरी सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जवानद्वय बहादुर कठायत र प्रशन्न श्रेष्ठ, उमेश श्रेष्ठ, ट्याक्सी चालक सन्दीप गुरुङ, तस्करीमा संलग्न भारतीय नागरिक देवान पटेल, विजय पटेल र निलेश सखिया छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस