भन्सार विभागले धेरैजसो काम अनलाइनबाटै सञ्चालन गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ श्रावण ३१, शनिबार (४ साल अघि)
  • १० पटक पढिएको
Post Thumbnail

साउन ३१,काठमाडौँ । कोरोना भाइरसको महामारीलाई ध्यान दिँदै भन्सार विभागले धेरैजसो काम अनलाइनबाटै सञ्चालन गर्ने जनाएको छ ।

सरकारले ५० प्रतिशत कर्मचारी मात्रै कार्यस्थलमा उपस्थित हुने र बाँकीले घरबाटै काम गर्न भनेकाले इमेल या भर्चुअल माध्यमबाट काम गर्ने व्यवस्था मिलाइएको महानिर्देशक सुमन दाहालले जानकारी दिए ।

विद्युतीय माध्यमबाट सम्भावना नहुने र बढी जनसम्पर्क हुने काम भने तत्कालको लागि स्थगित भएको महानिर्देशक दाहालको भनाइ छ ।

नीति महसुल तथा छुट वर्गीकरण शाखाको काम इमेलबाटै हुनेछ, कुनै द्धिविधा भएमा विभागले सम्बन्धित अधिकारीलाई फोन गरेर बुझ्न सकिनेछ ।​

सेवाग्राही सहजीकरण शाखाका काम पनि इमेलबाटै हुनेछन् । यसको लागि पनि विभागले प्रक्रिया र सम्बन्धित व्यक्तिको फोन नम्बरसमेत सार्वजनिक गरेको छ ।

तर कोड खारेजी गर्ने, बैंकमा राखिएको ग्यारेन्टी परिवर्तन या रकम फुकुवा गर्ने कार्य र खरिद, निर्माण सेवा, परामर्श र मौजुदा सूचीदर्ताको कार्य भने अहिलेको लागि स्थगित गरिएको भन्सार विभागले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस