भाद्र १, काठमाण्डौ । एन आई सी एशिया बंैकद्वारा कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे सुचारु गरेको छ । बैंकले अन्तर्राष्ट्रिय गेटवे प्रदायक कम्पनी साइबरसोर्सको गेटवे प्रणाली नेपालमा भित्र्याउँदै इच्छुक मर्चेन्टहरूका लागि जुनसुकै राष्ट्रिय तथा अन्तर्राट्रिय बैंकद्वारा प्रदान गरिएको कार्डहरूमार्फत भुक्तानी प्राप्त गर्न सक्ने प्रणाली सुचारु गरेको हो । अमेरिकाको बहुराष्ट्रिय कार्ड कम्पनी भिजाको प्रमुख लगानी रहेको यस साइबरसोर्सको गेटवे प्रणाली यस बैंकले नेपालमा पहिलोपटक ल्याएको हो ।
अमेरिका, चीन, भारत लगायत एशिया, युरोप र अफ्रिकाका विभिन्न देशहरूमा प्रयोग भइरहेको यो गेटवे प्रणाली आफ्नो उच्च सफलता दर र निर्वाध भुक्तानीका लागि विश्वजगतमा प्रतिष्ठित छ । यस सुविधामार्फत ठूलो संख्यामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड प्रयोगकर्ताहरूसँग देशमा रहेका विभिन्न मर्चेन्टहरूले व्यवसायिक सम्बन्ध कायम गरी सोझै आफ्नो एन आई सी एशिया बैंक खातामा भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
यस सुविधाले विशेषगरि अनलाइन प्लेटफर्ममा आधारित हवाई उड्डयन, युटिलिटी सेवा प्रदायक, भुक्तानी सेवा प्रदायक, पर्यटन व्यवसायी, एडभेन्चर तथा मनोरञ्जन, हस्तकला लगायतका व्यवसायीहरूलाई भुक्तानी प्रणालीमा नयाँ आयाम थप्ने बैंकले जनाएको छ । यस गेटवे प्रणालीबाट हालका लागि भिजा कार्डमार्फत कारोबार गर्न सकिने छ भने बैंकले निकट भविष्यमै मास्टर कार्ड युनियन पेलगायतका कार्डमार्फत समेत कारोबार गर्न सकिने तयारी गरिरहेको बैंकले जनाएको छ ।