माघ २०, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले चाँगुनारायण नगरपालिका वडा नं। ८ स्थिती घोरासाईने गाउँ सडकको शिलान्यास गर्दै आगामी वर्ष नेपाललाई विकासन्मुख राष्ट्र घोषणा गर्ने उद्घोष गरेका छन् ।
संघिय सरकारको रु ४ करोडको लागतमा ८ मिटरको चौडाई भएको उक्त सडक निर्माण, स्तरउन्नती तथा कालोपत्रे गर्ने कार्यको आज शिलान्यास गर्दै सांसद बस्नेतले बर्तमान नेकपाको सरकार बनेसँगै नेपालको अर्थतन्त्रका डाटाहरुले आगामी वर्षमा उक्त घोषणा गर्न सकिने तथ्याङ्क देखाईरहेको स्पष्ट पारे । नेपालको अर्थतन्त्र व्यापक मात्रामा सुधार भइरहेको उल्लेख गर्दै अबका दिनमा नेपाल अविकसित मुलुक रहन नसक्ने बताए ।
विकास आवश्यकता र मागका आधारमा हुने बताउँदै उनले अल्पविकसित मुलुकका विकास आवश्यकता भन्दा पनि मागका आधारमा गरिने बताए । हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्ग, भारत र नेपाल पाइपलाईन निर्माण कार्य, रेलमार्ग, पानी जहाज सञ्चालन गर्ने, पोखरा, लुम्बिनी, जीजगढमा अन्तर्राष्ट्रिय एयरपोट बनाउने लगायतका असंख्य राष्ट्रिय गौरवका आयोजनाहरु निर्माणको चरणमा रहेको जानकारी गराउँदै नेपालले विकासको दृष्टिले क्रमिक रुपमा सुदृढको बाटो अवलम्बन गरेकाले आगामी वर्ष विकासन्मुख राष्ट्र घोषणा गर्न सकिने स्पष्ट पारे ।
स्थानीय तह तथा प्रदेश सरकारलाई संघिय सरकारले नै बजेट व्यवस्थापन गरिदिने गरेको जानकारी गराउँदै उनले प्रतिपक्षीले यो त यसले पो गरेको त केन्द्रीय सरकारले कहाँ गरेको हो भनि अनावश्यक खेती गर्नुको कुनै औचित्य नभएको बताए ।
केन्द्रीय सरकारबाट पछिल्लो समय चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा पाँच,पाँच वटा सडक प्रत्येकलाई रु दुईरदुई करोडका दरले बजेटको व्यवस्थापन गर्न सफल भएको जानकारी गराउँदै उनले सुडालमा ३२ करोड रकममा सडक निर्माण तथा विस्तारको कार्य, चाँगु फास्ट ट्रयाकको लागि एक करोडमा निर्माण कार्य भइरहेको बताए । त्यस्तै खहरेबाट वीर अस्पताल जाने सडक अर्थमन्त्रालय तथा स्वास्थ्य मन्त्रालयसँग छलफल गरी ५० करोड भन्दा बढीको लागतमा १५ मिटरको सडक निर्माणको प्रकृया चाँडै अघि बढ्ने समेत उनले जानकारी दिए ।
सरकारबाट यो हप्तामात्र चाँगुनारायणमा रु १२ करोड पार्न सफल भएको जानकारी गराउँदै उक्त क्षेत्रमा प्राप्त विकास निर्माणका योजना तथा बजेट आफुले आफ्नो क्षेत्र नपरे पनि बोनसको रुपमा व्यवस्थापन गरिदिएको बताए । उनले भक्तपुर क्षेत्र नं। १ को संघिय सांसदले विकास निर्माणका कुनै पनि भूमिका निर्वाह नगरेको स्पष्ट पार्दै आगामी दिनमा आफुले उक्त क्षेत्रको पनि अविभावकत्व गर्ने समेत स्पष्ट पारे । आफुले अविभावकत्व गरेसँगै विकासमा कुनै पनि प्रकारको बजेटको समस्या नहुने बताउँदै समाज रुपान्तरण तथा आवश्यकता अनुसारको योजना बनाई अघि बढे आफुले जस्तो सुकै सहयोग गर्ने समेत प्रतिवद्धता जनाए । आफुले जे जनताको सामु प्रतविद्धता जनाएको छ त्यसलाई पुरा गरेरै छाड्ने उद्घोष गर्दै उनले भने ‘जे गर्छौ त्यो मात्र बोल्छौं, जे बोल्छौं त्यो गरेरै छाड्छौं भन्ने मान्यतालाई स्थापीत गराएका छौं ।’
जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले सांसद बस्नेत भक्तपुर क्षेत्र नं। २ बाट निर्वाचित भएता पनि क्षेत्र नं। १ को समेत विकासको पहरेदार भएको बताउँदै कुनै पनि विकास र समृद्धिको यात्राको व्यवस्थापन गर्ने जिम्मा स्थानीयवासीको भएको उल्लेख गरे । सांसद बस्नेत असल जनप्रतिनिधि भएकै कारण भक्तपुर नमुना बन्दै गएको समेत बताए ।
क्षेत्र नं। १ का निर्वाचित सांसदको निर्वाचित भएपश्चता अनुहार समेत देख्न नपाएको गुनासो गर्दै प्रमुख गेलालले आफु विकास पनि नगर्ने र गर्नेलाई पनि कुनै पनि सानो कुरालाई वा तिललाई पहाड बनाई विरोधको खेती मात्र गर्ने गरेको बताए ।
नेकपा भक्तपुरका अध्यक्ष बचन देउजाले संघियताको कार्यान्वयवनसँगै नेकपाले तीनवटै सरकारको सहयात्री भई अघि बढिरहेको स्पष्ट पारे । नेकपाको नेतृत्व आएसँगै अन्य जिल्लाका मानिसहरुले विकास हेर्न भक्तपुर जानुपर्छ भन्ने अवस्थाको सिर्जना भएको बताउँदै नेकपाकै नेतृत्वमा विकास प्रतिको जनताको भोक पुरा हुने दावी गरे ।
वडाध्यक्ष परासर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख विष्णु प्रसाद काफ्लेले उक्त सडकलाई फास्ट ट्रयाकको रुपमा विकास गर्न सडकको चौडाईलाई स्तरउन्नती गर्नुपर्नेमा जोड दिए । उनलेले उक्त सडक निर्माणको क्रममा परिमाण र गुणस्तरियतामा कुनै कन्जुस्याई नहुने बताउँदै निर्धारित समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिए ।