फाल्गुण ३, काठमाण्डौ । संविधान कार्यान्वयन एवं विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षासाथ केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा भएको छ । सरकार आरम्भ वर्षका रूपमा सुशासन र विकासलाई तीव्रता दिँदै समृद्धिमा अग्रसर भएको छ ।
संविधानले निर्दिष्ट गरेका कानुन निर्माण, राष्ट्रिय गौरवका आयोजनाको थालनीसहित सरकारले पहिलो वर्षलाई विकास र समृद्धिको आधार वर्षका रूपमा अगाडि बढाएको थियो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षासहित दोस्रो वर्षमा पूर्वाधार निर्माणमा तीव्रता, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, भ्रष्टाचार नियन्त्रणमा सफलता, शान्तिसुरक्षामा सुधार जस्ता महŒवपूर्ण उपलब्धि हात पारेको निष्कर्ष सरकारको छ ।
जलविद्युत्, सिँचाइ, सुरुङमार्ग, रेलमार्ग, जलमार्ग, अन्तर्राष्ट्रिय विमानस्थल, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, पाइप लाइन, सडकमार्ग, सूचना र प्रविधिको क्षेत्रमा देशभर फोरजी र ब्रोडब्यान्ड सेवा विस्तार, मौलिक हकको कार्यान्वयनलगायत पूर्वाधार विकासमा गौरवपूर्ण योजनाको थालनी भएको छ । प्रधानमन्त्री ओलीको शब्दमा भन्ने हो भने “मूर्छित सपनाहरू बौरिएका छन् । नेपाल सुरुङमार्गको युगमा प्रवेश गरेको छ । ”
प्रधानमन्त्री ओलीले दुई वर्षको सरकारको अनुभवले मुलुकबाट गरिबी, अशिक्षा, निरक्षरता, पछौटेपन, रोग, भोक हटाउन सक्छौँ भन्ने स्पष्ट विश्वास देखाएको बताए । उनले भनेका छन् , “हामी विकासको बाटोमा छौँ । समृद्धि हासिल गर्ने बाटोमा छौँ । हामी सुशासन कायम गर्ने बाटोमा छौँ । भ्रष्टाचार रोक्ने, नियन्त्रण गर्ने र अन्त्य गर्ने बाटोमा छौँ । ” प्रधानमन्त्री ओलीले सरकारका कामहरू विकास, समृद्धि, कानुनको पालना र सुशासनतर्फ केन्द्रित रहेको चर्चा गर्दै भने “सरकारका प्रयासहरू त्यता छन् । यो दुई वर्षमा हामीले कुन बाटो लिएका छौँ, कुन दिशा लिएका छौँ र कुन गति लिएका छाँै यो आजको मुख्य प्रश्न हो । ”
उनले पूर्वाधार विकासको क्षेत्रमा उल्लेखनीय कार्य भएको चर्चा गर्दै भने , “यस अवधिमा तीन हजार ६३६ किलोमिटर सडक कालोपत्रे भएको छ । तीन हजार ५७९ किलोमिटर ग्राभेलस्तरको सडक निर्माण भएको छ । ३२५ वटा सडक पुल निर्माण भएका छन् । ” प्रधानमन्त्री ओलीले पूर्वपश्चिम राजमार्गलाई छ लेनमा स्तरोन्नति गर्ने कार्यको थालनी, नागढुङ्गा सुरुङमार्गको प्रारम्भ, जयनगरदेखि बिजुलपुरासम्म रेगमार्ग सञ्चालनको तयारी, जलमार्गमा पहुँच विस्तार, अन्तर्राष्ट्रिय व्यापार घाटामा कमी, उच्च आर्थिक वृद्धिदर गरेका विश्वका १० मुलुकमध्ये नेपाल एक हुनेजस्ता सूचकाङ्कले पनि मुलुक सही दिशातिर गइरहेको प्रस्ट सङ्केत गर्ने धारणा व्यक्त गरे । अर्थमन्त्री डा। युवराज खतिवडाले विधि र संरचना निर्माणमा पहिलो वर्ष महŒवपूर्ण रहेको चर्चा गर्दै वित्तीय सङ्घीयताको सहज कार्यान्वयनमा ठूलो उपलब्धि प्राप्त भएको निष्कर्ष निकाले ।