भाद्र १२, काठमाडौं । अर्थ मन्त्रालयबाट मन्त्री डा। युवराज खतिवडाको बहिर्गमनको चर्चा फेरि सुरु भएको छ । अढाई वर्षअघि राष्ट्रियसभा सदस्यमा मनोनीत खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीमा नियुक्त गरेका थिए । राष्ट्रियसभाको दुईवर्षे कार्यकाल गत फागुन १९ मा सकिएपछि मन्त्री पदबाट राजीनामा गरेका खतिवडा २४ घण्टा नबित्दै पुनर्नियुक्त भए ।
संविधानको धारा ७८ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने र मन्त्रीले शपथग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसद्को सदस्य हुनुपर्ने प्रावधान छ । पुनर्नियुक्त भएपछि प्रधानमन्त्री ओलीका विश्वासपात्र खतिवडाले अर्थ मन्त्रालयसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी समेत पाए । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा भ्रष्टाचार काण्डमा मुछिएपछि उक्त पद खाली थियो । खतिवडा दोस्रो पटक मन्त्री भएको यही भदौ २० गते ६ महिना पुग्दैछ। उनी सांंसद नरहेकाले फेरि दोहोरिने सम्भावना कम छ ।