जेठ २८, काठमाडौं । आजको प्रतिनिधिसभाको बैठक भोली बस्ने गरी स्थगित भएको छ । सभामुख देवराज घिमिरेले भोली बिहिबार तीन बजे बस्ने जानकारी दिए ।
ढिला गरी सुरु भएको आजको सभामा विपक्षी दलका सांसदहरुले अवरोध गरेपछि बैठक १५ मिनेट मात्र चल्यो । सभामुख घिमिरेले बैठक सुरु भएको जानकारी गराउनेवित्तिकै विपक्षी दलका सांसदहरुले उठेर होहल्ला सुरु गरेका थिए ।
सदनमा प्रतिपक्ष दलले आफूहरूको माग पूरा गर्नुपर्ने, भिजिट भिसामा संलग्नहरूको कारबाही, छानबिन समिति गठन गर्नुपर्ने लगायतका विषय राखेर नाराबाजी गर्दै टेबुल ठोकेका थिए ।
त्यसक्रममा सत्तापक्षका केही सांसद प्रतिवादमा उत्रिए । आज दिउँसो एक बजे बोलाइएको बैठक दुई घण्टा ढिला हुँदासमेत सुरु हु्न नसके पछि सवा ३ बजे बस्ने गरी सारिएको थियो । सवा तीन बजे सारिएको बैठक पनि आधा घण्टा ढिला गरी सुरु गरिएको थियो ।
यसअघि सोमबार पनि यसैगरी बैठक सारेर पाँच मिनेट जति बैठक चलाइएको थियो । विपक्षी दलले यही जेठ १३ गतेदखि भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा वा संसदीय समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गरिरहेका छन् ।
रास्वपाले समिति गठनका लागि तयार पारेको प्रस्तावमा अरु विपक्षी दलले काँध थापेका छन् तर सत्तारुढ नेकपा एमालेले भने त्यो प्रस्तावमा छलफलै हुन नसक्ने प्रतिक्रिया दिएको छ । एमाले सांसद योगेश भट्टराईले यस्तो अवरोध अब धेरै समय नजाने बताएका छन् ।