जेठ २८, काठमाडौं । संवैधानिक निकायका ५२ पदमा पदाधिकारी नियुक्ति विवादको रिटमाथि सर्वोच्च अदालतले आज निर्णय नसुनाउने भएको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको छलफल नसकिएपछि सर्वोच्चले निर्णय सुनाउने मिति सारेको हो । अब सर्वोच्चले यसबारे असार १८ गते निर्णय सुनाउने प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषद्को सिफारिसमा २०७७ माघ २१ र २०७८ असार १० गते अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायतका संवैधानिक निकायमा अध्यादेशमार्फत ऐन संशोधन गरी नियुक्ति दिएका थिए ।
तर ती नियुक्ति संविधानविपरित भन्दै सर्वोच्चमा १५ वटा रिट परेको थियो । सरकारको उक्त निर्णयविरुद्ध अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले रिट दायर गरेका थिए । तर रिटको सुनुवाइमा ढिलाइ हुँदै आएको थियो ।
साढे ४ साल अगाडिको रिट निवेदनमा सर्वोच्चले आज निर्णय सुनाउन लागेपनि छलफल नसकिएपछि मिति सारिएको हो । ती नियुक्तिविरुद्ध परेका १५ रिटलाई सँगै सुनुवाइ गरेर संवैधानिक इजलासले निर्णय सुनाउन लागेको हो ।
रिटमा फैसला नहुँदै ३२ पदाधिकारीको चार वर्षे कार्यकाल गत माघ २१ मा सकिसकेको छ । बाँकी २० पदाधिकारी पनि चार वर्षनजिकको कार्यकालमा छन् ।